आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वासनीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता राजनीतिक दल तथा उम्मेदवारहरूले व्यक्त गरेका छन्।
कपिलवस्तुको तौलिहवास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी दल तथा उम्मेदवारहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०८२ को पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा बोल्दै सहभागीहरूले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको कडाइका साथ अनुगमन र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। सो अवसरमा उम्मेदवार, राजनीतिक दल तथा तिनका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरिएको थियो।
मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए। आचारसंहिता उल्लंघन गर्ने दल वा उम्मेदवारलाई आचार समिति तथा निर्वाचन आयोगबाट कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे। साथै, निर्वाचन खर्चका लागि आयोगले तोकेको सीमा अनिवार्य रूपमा पालना गर्नुपर्ने र निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले व्यक्तिगत कामका नाममा गरिने कुनै पनि गतिविधि गैरकानुनी हुने उनले बताए।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आचारसंहिता उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्दै स्वच्छ, भयरहित र विश्वासनीय निर्वाचनका लागि सबै सरोकारवालाले इमान्दारीपूर्वक आचारसंहिता पालना गर्नेमा आफू विश्वस्त रहेको बताए।
उनले मतदानभन्दा १७ दिन अगाडिबाट मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाइने कानुनी व्यवस्था रहेको जानकारी गराए। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भविश्वर घिमिरेले राजनीतिक दल तथा तिनका भ्रातृ र सन्निगठनहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने आचारसंहिताका प्रमुख प्रावधानबारे जानकारी गराएका थिए।
अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि, उम्मेदवार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बैठकमा आचारसंहिता पालनाको प्रतिबद्धता, अनुगमन संयन्त्रको प्रभावकारी प्रयोग, खर्च व्यवस्थापन तथा निर्वाचन मर्यादा कायम गर्ने विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरिएको थियो।
प्रकाशित मिति: २०८२ माघ १९ गते


