अर्घाखाँची जिल्लाका दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्। प्रतिनिधिसभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा मतदान सुरक्षालाई चुनौतीपूर्ण बनाउने भौगोलिक अवस्थाका कारण धेरै स्थल उच्च जोखिममा वर्गीकृत गरिएको हो।
जिल्लामा रहेका २०९ मतदान केन्द्र अन्तर्गत १०१ मतदानस्थलमध्ये ३७ वटा अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए।
उनका अनुसार भौगोलिक जटिलता, दुर्गमता र यातायात पहुँचको अभाव भएका मतदानस्थललाई अति संवेदनशील श्रेणीमा राखिएको हो।
“जहाँ भौगोलिक अवस्था कठिन छ, त्यस्ता मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ,” भट्टराईले भने, “शितगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुकेलगायतका क्षेत्रका मतदानस्थल उच्च जोखिममा रहेका छन्।”
सदरमुकाम नजिक, सडक पहुँच सहज भएका तथा सुरक्षाको दृष्टिले तुलनात्मक रूपमा सहज स्थानमा रहेका मतदानस्थललाई भने सामान्य श्रेणीमा राखिएको उनले बताए।
विशेषगरी शितगंगा नगरपालिकाका धेरै बस्तीहरू छरिएर रहेका छन्। घरभन्दा जंगल क्षेत्र बढी भएका ती स्थानबाट मतदाता घण्टौँ पैदल हिँडेर मतदान केन्द्र पुग्न बाध्य छन्। यस्तो अवस्थालाई मध्यनजर गर्दै मतदाताले डर र दबाब बिना ढुक्कसँग मतदान गर्न सक्ने वातावरण बनाउन सुरक्षा रणनीति थप सुदृढ गरिने प्रशासनको भनाइ छ।
“सबै मतदान केन्द्रको स्थलगत अनुगमन गर्दै मतदातालाई सुरक्षित रूपमा घरबाट मतदान केन्द्र पुग्ने र आफ्नो इच्छाअनुसार मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न आवश्यक सुरक्षा योजना लागू गरिनेछ,” भट्टराईले बताए।
प्रकाशित मिति: २०८२ माघ १५ गते


