निर्माण सामग्री अभावले बुटवल–गोरुसिङ्गे सडक विस्तार सुस्त

निर्माणजन्य सामग्रीको गम्भीर अभावका कारण बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारको काम सुस्त गतिमा अघि बढिरहेको छ। राष्ट्रिय राजमार्ग विस्तार आयोजनाअन्तर्गत बुटवलदेखि गोरुसिङ्गेसम्म ४९ किलोमिटर सडक विस्तार प्रभावित बनेको हो।

आयोजनाका लागि करिब ३० लाख घनमिटर निर्माण सामग्री आवश्यक रहेकामा हालसम्म ५ लाख ८० हजार घनमिटर मात्र उपलब्ध भएको आयोजनाले जनाएको छ। माटो, गिटी, बालुवा तथा अन्य नदीजन्य सामग्री स्थानीय तहबाट पर्याप्त रूपमा उपलब्ध हुन नसक्दा काममा समस्या आएको हो।

बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म विस्तार गर्न लागिएको सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ। सडक विस्तार कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार आवश्यक नदीजन्य सामग्रीको खोजीका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ।

पहिलो खण्डअन्तर्गत बुटवल–सैनामैना हुँदै सालझण्डीबाट कपिलवस्तुको कोठी नदीसम्म २५ किलोमिटर सडक विस्तार भइरहेको छ। यस खण्डका लागि ८ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकोमा हालसम्म सैनामैना नगरपालिकाबाट ६३ हजार घनमिटर मात्र प्राप्त भएको छ। बुटवल उपमहानगरपालिकासहित अन्य स्थानीय तहसँग आग्रह गरिए पनि आवश्यक मात्रा सुनिश्चित हुन सकेको छैन।

यस खण्डमा ८ लाख ७९ हजार घनमिटर माटो आवश्यक रहेकामा अहिलेसम्म २७ हजार घनमिटर मात्र उपलब्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिकाले एक लाख घनमिटर माटो उत्खनन गर्न अनुमति दिएकाले केही सहजता आएको श्रेष्ठले बताए।

२५ किलोमिटर क्षेत्रमा निर्माण हुने ६७ वटा बक्स कल्भर्टमध्ये ३७ वटाको काम अन्तिम चरणमा पुगेको छ भने दुईवटा एनिमल क्रसिङ सम्पन्न भएका छन्। १२ वटा ठूला पुलमध्ये अधिकांशमा पाइलिङसहितको काम अन्तिम चरणमा छ। आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ र पाँचवटा ‘भेहिकल अन्डरपास’ निर्माण सुरु भएको छ।

तर, माटो र मिस्कट अभावका कारण कल्भर्ट, नाली र पुल निर्माणपछि गर्नुपर्ने माटो फिलिङ र सडक चौडाइको काम रोकिँदा करिब २०० कामदार बेरोजगार हुने अवस्थामा पुगेको निर्माण व्यवसायीले बताएका छन्।

दोस्रो खण्डअन्तर्गत कोठीदेखि कपिलवस्तुको इमिलियास्थित बेल नदीसम्म २४ किलोमिटर सडक विस्तार हुँदैछ। यस खण्डमा पनि माटो र नदीजन्य सामग्रीको अभाव कायमै छ। ६ लाख २० हजार घनमिटर माटो आवश्यक रहेकामा हालसम्म तीन लाख घनमिटर मात्र प्राप्त भएको छ।

बुद्धभूमि नगरपालिका (कपिलवस्तु) र शीतगंगा नगरपालिका (अर्घाखाँची) ले माटो उपलब्ध गराएकाले केही सहजता आएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलले बताए। तर अझै ५ लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेको उनले जानकारी दिए।

यस खण्डमा ६६ वटा बक्स कल्भर्टमध्ये २६ वटा, १६ एनिमल क्रसिङमध्ये १३ वटा तथा ८ ठूला पुलमध्ये ६ वटा अन्तिम चरणमा छन्। दुईवटा बक्स ब्रिजमध्ये एउटा निर्माणाधीन छ। प्रिकास्ट नाली निर्माण ८० प्रतिशत सम्पन्न भएको छ। हालसम्म यस खण्डमा १९ प्रतिशत भौतिक र १४ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ।

चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको गिर्वाण निर्माण सेवाले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा तीन वर्षभित्र सडक विस्तार सम्पन्न गर्ने गरी गत माघबाट काम सुरु गरेका थिए। आयोजनाले हालसम्म करिब २० प्रतिशत भौतिक र १६ प्रतिशत वित्तीय प्रगति गरेको आयोजना प्रमुख इन्जिनियर कुलशता न्यौपानेले जानकारी दिइन्।

सुरुमा कामदार अभाव, वर्षा, जेन्जी आन्दोलन तथा चाडपर्वका कारण काम प्रभावित भएको र हाल निर्माण सामग्रीको चरम अभाव मुख्य चुनौती बनेको न्यौपानेको भनाइ छ। रूपन्देहीका स्थानीय तहले आवश्यकता अनुसार सामग्री उपलब्ध गराउन नसक्दा समस्या झन् जटिल बनेको उनले बताइन्।

हाल आयोजनामा करिब ६ सय कामदार खटिएका छन्, जबकि यसअघि ८ सयसम्म कामदार कार्यरत थिए।

प्रकाशित मिति: २०८२ माघ १५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी