राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीसम्बन्धी अभियोगलाई यथावत् राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन पेश गरेको थियो।
तर, उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको रिटको अन्तिम टुंगो नलागेसम्म निवेदन पेश गर्न नमिल्ने आदेश दिँदै जिल्ला अदालतले कार्यान्वयन गर्न अस्वीकार गरेको हो।
रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले “उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले त्यससम्बन्धी अन्तरिम आदेशको विषयमा अन्तिम टुंगो लागेपछि मात्र पेश गर्नू” भन्ने आदेश दिएको थियो।
महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार सहकारी ठगीको अभियोग कायम राख्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन माग गर्दै निवेदन पेश गरिएको भए पनि अदालतले हाल त्यसलाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: २०८२ माघ १५ गते


