कपिलवस्तुको कृष्णनगर क्षेत्रमा भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्यका फलफूल तथा सवारी साधन प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च १११७ नम्बरको पिकअप रोकी जाँच गरेको थियो। पिकअप चालक दाङको राप्ती गाउँपालिका–१ निवासी करिब २५ वर्षीय मोहम्मद अकरम रहेको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा उक्त पिकअपमा भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याइएका १ हजार १३५ केजी फलफूल (केरा, जुनार र अनार) फेला परेको थियो। ती फलफूलको बजार मूल्य करिब १ लाख ४ हजार ८ सय रुपैयाँ रहेको छ भने पिकअपको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ। यसरी फलफूल र सवारी साधन गरी कुल १६ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले चालकसँगै सहचालक दाङ राप्ती गाउँपालिका–६ निवासी करिब २५ वर्षीय प्रदीप कुमार चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाएको जनाएको छ।
यसैगरी, कृष्णनगर नगरपालिका–२ स्थित प्रहरी चेकपोइन्ट नजिकै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गर्दा प्रहरीलाई देखेर छाडेर फरार भएको अवस्थामा करिब १ लाख ९ हजार ३ सय रुपैयाँ मूल्य बराबरका फलफूल (केरा, जुनार र अंगुर) वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको छ। ती सामानसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले सीमा क्षेत्रमा अवैध पैठारी रोक्न नियमित चेकजाँच कडा बनाइएको बताउँदै भन्नुभयो,
“भन्सार छली हुने अवैध आयातले राज्यको राजस्वमा क्षति पुग्ने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय रूपमा परिचालन गरिएको छ। आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी अझ कडा बनाइनेछ।”
प्रहरीले भन्सार छली अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
प्रकाशित मिति: २०८२ माघ १५ गते


