रविलाई सेलुलाइटिसको समस्या, कति गम्भीर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । तर उनले सामान्य रूपमा लिए । केही औषधि खाए । चोट निको नहुँदै उनी आफ्नो निवार्चन क्षेत्र चितवनतर्फको चुनावी दौडमा हिँडे ।

कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् । दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो । खुट्टा रातो भयो ।

चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे ।आकस्मिक कक्षमा भर्ना भएपछि चिकित्सकले परीक्षण गरे । प्रारम्भिक परीक्षणमा घाउ गम्भीर देखिएपछि अल्ट्रासाउन्ड गरियो । अल्ट्रासाउन्डमा केही जमेको जस्तो देखियो । अनि थप परीक्षणका लागि कल्चर परीक्षण गरियो । जसमा रविलाई ‘सेलुलाइटिस’ भएको पत्ता लाग्यो ।

‘खुट्टामा चोट लागेपछि डाक्टरलाई देखाएर औषधि लिनुभएको रहेछ । तर नियमित सेवन नगर्दा भने समस्या बल्झिँदै गएपछि मंगलबार अस्पताल भर्ना हुनुभएको छ,’ त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले भने ।

हाल लामिछाने क्याबिनमा उपचारत छन् । डा. सेढाईंका अनुसार रविलाई छालामुनिको संक्रमण भएको हो । जसलाई सेलुलाइटिस भनिन्छ ।

उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।

‘अहिले स्टेबल हुनुहुन्छ । सेलुलाइटिस हुँदा छालाको भाग रातो हुन्छ । घाउको रंग परिवर्तन हुँदै गएपछि डिस्चार्ज गर्न सकिन्छ,’ डा. सेढाईंले भने ।

चिकित्सकका अनुसार नसामार्फत एन्टिबायोटिक सामान्यतया एक हप्ता दिनुपर्छ । तर घाउको रंग परिवर्तन हुँदै गएमा अबको तीन दिनमा डिस्चार्ज गर्न सकिने डा. सेढाईंले जानकारी दिए ।

त्यसपछि भने घरमै पनि औषधि लिन सकिने डा. सेढाईंले बताए ।

के हो सेलुलाइटिस ?

‘सेलुलाइटिस’ छालामुनि हुने एक प्रकारको संक्रमण हो । समयमा उपचार नगरेमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र पाण्डेका अनुसार सेलुलाइटिस छालाको सतहमुनि र मासुको बाहिरी भागको बीचमा रहेको खाली ठाउँमा हुने संक्रमण हो ।

चिकित्सा भाषामा यसलाई ‘सब्क्युटेनियस स्पेस’ भनिन्छ । ‘छाला र मासुको बीचको भागमा यो संक्रमण फैलिन्छ,’ डा. पाण्डे भन्छन् ।

यस समस्या हुँदा संक्रमण भएको दुख्ने, रातो हुने र सुन्निने हुन्छ । उनका अनुसार, संक्रमण बढ्दै गएमा ज्वरो पनि आउन सक्छ ।

सेलुलाइटिसको समयमा उपचार नगरेमा गम्भीर जटिलता निम्त्याउन सक्छ। डा. पाण्डेका अनुसार, संक्रमण फैलिँदै गएमा भित्रको मांशपेशीसम्म पुग्न सक्छ ।

‘धेरै फैलियो भने मांशपेशीको पनि संक्रमण हुन्छ र पिप जम्न सक्छ । कतिपय अवस्थामा शल्यक्रिया कै आवश्यकता पर्छ,’ डा. पाण्डे भन्छन् ।

विशेष गरी ज्येष्ठ नागरिक, मधुमेह रोगी र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा सेलुलाइटिस समस्या ‘सेप्सिस’ मा परिणत हुने खतरा बढी हुन्छ ।सेप्सिस रगतमा फैलिने गम्भीर संक्रमण हो, जसले ज्यान जोखिममा पार्न सक्छ ।

डा. पाण्डेका अनुसार रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा र समयमै उपचार गर्दा सेलुलाइटिसको समस्या निको हुन्छ ।
चिकित्सकका अनुसार सेलुलाइटिस समयमा उपचार नगर्दा संक्रमण शरीरमा फैलिँदै गएर मृत्यु हुने सम्भावना पनि हुन्छ ।

शरीरमा वाह्य भाइरस, फंगल, किटाणुको संक्रमण गर्दा प्रतिरक्षा प्रणाली संक्रमण विरुद्ध लड्न नसकेपछि सेप्सिस हुन्छ । यो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले वाह्य संक्रमण विरुद्ध असामान्य प्रतिक्रिया देखाउँछ ।

प्रतिरक्षा प्रणाली अति सक्रिय भइदिन्छ । यस्तोमा संक्रमणविरुद्ध लड्नुको साटो प्रतिरक्षा प्रणालीले उल्टो शरीरमा असामान्य प्रतिक्रिया देखाई तन्तु तथा अंगलाई आफैं हानि गर्न सुरु गर्छ । जसकारण शरीरको सबै भाग सुन्निन्छ । वाह्य संक्रमण रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिन्छ ।

कलेजो र मिर्गौला जस्तो अंगलाई क्षति गराई मानिसको मृत्यु पनि हुन सक्छ ।

डा. पाण्डेका अनुसार प्रारम्भिक चरणमा समस्याको पहिचान भए एन्टिबायोटिकबाट नै उपचार सम्भव हुन्छ । ‘एक हप्तासम्म एन्टिबायोटिक दिएर र घाउको नियमित ड्रेसिङ गरेर उपचार गरिन्छ ।’

तर, पिप जमिसकेपछि भने शल्यक्रिया गरेर निकाल्नुपर्ने हुन्छ । अन्य अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना गरी नसाबाट एन्टिबायोटिक दिइन्छ ।

डा. पाण्डेका अनुसार रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा र समयमै उपचार गर्दा सेलुलाइटिसको समस्या निको हुन्छ ।स्रोत –अनलाइन खबर 

 

प्रकाशित मिति: २०८२ माघ १४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी