सरिता थारु, कपिलबस्तु ।
प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक गोरुसिंगेमा सम्पन्न भएको छ । बैठकले आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राख्दै प्रचार–प्रसार तथा संगठन सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले निर्वाचनको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउन क्षेत्रगत रूपमा प्रचार–प्रसार समाचार डेक्स गठन गर्दै जिम्मेवारी तोकेको छ । जसअनुसार क्षेत्र नं। १ मा प्रेस चौतारी नेपाल बाणगंगा नगर अध्यक्ष हरि आचार्य सहित सरिता थारु, दिपिका सुनार, विनोद भट्टराई र इमरान हुसेन लाई प्रचार–प्रसार समाचार डेक्सको जिम्मेवारी दिइएको छ ।
त्यस्तै क्षेत्र नं। २ मा प्रेस चौतारी नेपाल जिल्ला सदस्य सागर सुनार, शुशिल गैरे, अजय बर्मा र नरसिंह कहार लाई जिम्मेवारी प्रदान गरिएको छ । क्षेत्र नं। ३ मा प्रेस चौतारी नेपाल जिल्ला सहसचिव राम आवतार थारु सहित घनश्याम भर, कृष्ण बेल्बासे, अर्जुन बेल्बासे र गीता पौडेल लाई प्रचार–प्रसार समाचार डेक्सको जिम्मेवारी तोकिएको छ ।
बैठकले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं कपिलबस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा सञ्चार क्षेत्रको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सञ्चारकर्मीहरूले तथ्यपरक र सशक्त सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा एआईमार्फत तयार पारिएका भ्रामक फोटो तथा भिडियोहरू व्यापक रूपमा फैलिएको भन्दै त्यसबाट जनतालाई सचेत गराउने जिम्मेवारी प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूको रहेको उल्लेख गर्नुभयो । साथै मुलुकमा भइरहेको विदेशी चलखेलविरुद्ध सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले सञ्चारकर्मीहरू पार्टीको विचार र राष्ट्रहितको पक्षमा दृढ भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रेस चौतारीले सत्य, तथ्य र जनताको पक्षमा कलम चलाउँदै निर्वाचनमा निर्णायक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा एमाले जिल्ला सचिव सिवी गहतराजले संगठनात्मक एकता र अनुशासन नै आगामी निर्वाचनको सफलता हुने बताउँदै प्रचार–प्रसारमा समन्वय र निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डेले प्रेस चौतारीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि जिम्मेवार पत्रकारिता मार्फत जनताको विश्वास जित्नुपर्ने बताउनुभयो ।
त्यस्तै केन्द्रीय अनुशासन आयोग सदस्य जानु पाण्डेले पत्रकारितामा अनुशासन, मर्यादा र आचारसंहिता अनिवार्य रहेको बताउँदै गलत सूचना र अफवाहविरुद्ध सशक्त रूपमा उभिनुपर्ने मा जोड दिनुभयो ।
बैठकमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, पूर्व केन्द्रीय सदस्य विकास बन्जाडे लगायतको पनि उपस्थिति रहेको थियो ।
बैठक प्रेस चौतारी नेपाल कपिलबस्तुका अध्यक्ष बाबुराम रायमाझी को अध्यक्षतामा तथा जिल्ला सचिव सन्जिव गहतराज को सञ्चालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०८२ माघ १० गते


