कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ भेलाई स्तिथ जय वनशक्ति सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वन उपभोक्ता समुहको सामुदायिक भवन परिसरमा आयोजित साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि समुहले झण्डै ८० लाखको बजेट समेत ल्याएको छ ।

जय वनशक्ति सामुदायिक वनका अध्यक्ष जित बहादुर जिसीले समुहको निति तथा कार्यक्रम र बजेट पेश गर्दै प्रस्तावित ८० लाख बराबरको बजेट पेश गरे । उनले गत आर्थिक वर्षका अधुरा योजनाको पूर्णता र विकासका लागि समेत बजेट विनियोजन भएको भन्दै केही नयाँ र उत्पादनमूलक शीर्षकमा समेत यसपटकको बजेटले समेट्ने प्रयास भएको बताए ।

कार्यक्रममा समुहका सचिव नेत्र प्रसाद पौडेलले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष विष्णु कंडेलले आ.व २०८१/०८२ को कुल ५० लाख ९२ हजार ५ सय ४४ रुपैँया बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । यस्तै वार्षिक साधारणसभा कार्यक्रममा वनका लेखा समितिका संयोजक झविन्द्र भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्पन्न साधारणसभा कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो भने वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतको विशिष्ठ आतिथ्यतासहित विभिन्न सामुदायिक वन समुहका अध्यक्षहरु, स्थानीय बुद्धिजीवि, वनका पुर्व अध्यक्षहरु, संचारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सामुदायिक वनले आफ्नो आम्दानीका स्रोतलाई वृद्धि गर्नका लागि वन व्यवस्थापनका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु सुझाए । उनले जुुन सामुदायिक वनले वन संरक्षण र वन व्यवस्थापनका काम प्रभावकारी बनाएका छन्, ती वनहरुको बजेटमा पनि हरेक वर्ष बृद्धि भइरहेको बताए ।

यस्तै कार्यक्रममा वडा अध्यक्ष बस्नेतले वनको बजेटको तुलनामा वडाको बजेट सानो आकारको हुने भएकाले वडाले वनसँग प्रतिश्प्रधा गर्न नसक्ने बताए । उनले सामुदायिक वनसँग वडाका योजनाहरुलाई पनि लागत साझेदारीमा सम्पन्न गर्न अग्रहसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जय वनशक्ति सामुदायिक वनले वन उपभोक्ता समुहका जेष्ठ सदस्यहरुलाई पोसिलो खानेकुरा, छाता र नगद राशीसहित सम्मान गरेको छ । वनका विभिन्न क्रियाकलापमा सहयोग गर्नेहरुलाई समेत वनले प्रमाण पत्रसहित सम्मान गरेको छ।


प्रकाशित मिति: २०८२ पुष १६ गते


