कपिलवस्तु, कात्तिक १७
कपिलवस्तुमा भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोलीले शुक्रबार बिहान करिब ११ बजे बुद्धभूमि नगरपालिका–२, तौलिहवा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित सवारी चेकजाँचका क्रममा उक्त माछा फेला पारेको हो।
प्रहरी निरीक्षक विराट शर्मा पौडेलको नेतृत्वमा खटिएको टोलीले बुटवलबाट अर्घाखाँची जाँदै गरेको लु १ ख ८६२९ नम्बरको यात्रुबसको पछाडिको डिक्कीमा लुकाइ–छिपाइ राखिएको करिब १५० केजी बैखी जातको माछा बरामद गरेको जनाएको छ। बरामद माछाको अनुमानित मूल्य करिब ४० हजार रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार सो माछा भन्सार शुल्क नतिरी अवैध रूपमा भारततर्फबाट ल्याइएको हुनसक्ने अनुमान गरिएको छ। बरामद माछालाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गे परिसरमा पत्रकार, जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ।
यससँगै प्रहरीले भन्सार छली गरी ल्याइने वस्तुहरूमा निगरानी थप कडा पारिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यस्ता अवैध कारोबार नियन्त्रणका लागि राजमार्ग क्षेत्रमा नियमित चेकजाँच र निगरानी अभियानलाई निरन्तरता दिइनेछ।
प्रकाशित मिति: २०८२ कार्तिक १७ गते


