रूपन्देही — यस वर्षको तिहारमा रूपन्देही जिल्लाभित्र राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाउने भएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सामाजिक सद्भाव कायम राख्दै सुरक्षालाई सुदृढ बनाउन राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार देउसी–भैलोमा सहभागी हुनेले मर्यादित पोशाक लगाउनुपर्ने र मादक पदार्थ सेवन पूर्णरूपमा निषेध गरिएको छ। सुरक्षा समितिले देउसी–भैलोको गतिविधि व्यवस्थित गर्न सादा पोशाकमा सुरक्षाकर्मी पनि परिचालन गर्ने तयारी गरेको छ।
‘सुरक्षा व्यवस्था खल्बलिन नदिन र नागरिकलाई सुरक्षा प्रत्याभूति गराउनका लागि यस्तो निर्णय गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।
प्रकाशित मिति: २०८२ आश्विन २८ गते


