नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दर्ता गरेको छ।
अनेरास्ववियुको आरोप अनुसार, भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र आपराधिक गतिविधि गर्न उक्साएको भन्दै उनीहरूविरुद्ध उजुरी दर्ता गरिएको हो। उजुरीमा बालेन र गुरुङमाथि राज्यविरुद्ध जासुसी गरेको आशंका पनि उल्लेख गरिएको छ।
अनेरास्ववियुका जिल्ला संयोजकको नेतृत्वमा पुगेको टोलीले जिल्ला प्रहरी परिसर तौलिहवामा उजुरी बुझाएको हो। सो क्रममा उनीहरूले बालेन र गुरुङले युवाहरूमार्फत राज्यविरुद्ध भ्रम फैलाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने र अराजक गतिविधिलाई प्रोत्साहन गरेको दाबी गरेका छन्।
प्रहरीले उजुरी दर्ता भइसकेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रकाशित मिति: २०८२ आश्विन २८ गते


