राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजना गरेको जेनजी युवाहरूसँगको छलफलमा सहभागी हुन नपाएका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। छलफलको अवसर नपाएको भन्दै उनीहरूले शीतल निवास अगाडि नाराबाजी गरेका हुन्।
जेनजी युवाहरूको वार्ता टोलीलाई बाहिर राखी सुदन गुरुङ नेतृत्वको समूहलाई मात्र छलफलमा प्रवेश गराएपछि बाहिर रहेका युवाहरू आक्रोशित बनेका हुन्। उनीहरूले आफूहरूलाई पनि छलफलमा सहभागी गराउन माग गर्दै नाराबाजी गरिरहेका छन्।
सुरक्षा व्यवस्थाका लागि खटिएको प्रहरीले प्रदर्शनकारी युवाहरूसँग संवाद गरेर स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरू सहित जेनजी युवा प्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। सुरुमा १७ जना प्रतिनिधि सहभागी हुने भनिए पनि पछि संख्या बढ्दै २० जनाभन्दा बढी पुगेको बताइएको छ।
मन्त्रिपरिषद् विस्तार र आगामी आमनिर्वाचनका विषयमा राय सुझाव लिन राष्ट्रपति पौडेलले उक्त छलफल आयोजना गरेका हुन्। तर, आधिकारिक जेनजी समूह कुन हो भन्ने विषयमा अझै स्पष्टता आएको छैन।
प्रकाशित मिति: २०८२ आश्विन २५ गते


