कपिलवस्तुको शिवराज नगरपालिका–६ धर्मनगरस्थित काली मन्दिरका पुजारी करिब ९ किलो गाँजासहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार मन्दिरभित्रको कोठामा बोरा भित्र लुकाएर राखिएको ८ किलो ७६० ग्राम गाँजासहित पुजारी गोपाल कुर्मी चौधरीलाई नियन्त्रणमा लिइएको हो।
स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी अनुचित गतिविधि गर्दै आएको उजुरी गरेपछि प्रहरीले मन्दिर परिसरमा खानतलासी गर्दा गाँजा फेला परेको प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
पुजारीको साथबाट ८ हजार २ सय २४ रुपैयाँ नगद समेत बरामद गरिएको छ। पक्राउ परेका चौधरीलाई अदालतबाट १३ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक आचार्यले बताए।
प्रकाशित मिति: २०८२ आश्विन २४ गते


