काठमाडौं । हाल देशभर मनसुनी प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले आज सबै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रही वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानहरूमा समेत वर्षा हुने देखिएको छ।
तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली हुने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका विभिन्न ठाउँमा समेत वर्षा हुने सम्भावना छ।
प्रकाशित मिति: २०८२ आश्विन १४ गते


