गुल्मी, भदौ ४ – गुल्मीको सत्यवती गाउँपालिकामा सार्वजनिक बिदा र शनिबारजस्ता दिनमा पनि विद्यालयहरू सञ्चालनमा रहेका छन्। शैक्षिक आन्दोलनका कारण भएको क्षतिको पूर्ति गर्न यस्तो निर्णय गरिएको गाउँपालिका प्रशासनले जनाएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाण्डेका अनुसार, संविधान दिवस (असोज ३), शनिबार (असोज ४) र घटस्थापना (असोज ६) का दिन समेत विद्यालय सञ्चालन गरिनेछ।
उनका अनुसार गत वैशाखमा शिक्षक महासङ्घको नेतृत्वमा भएको शैक्षिक आन्दोलनको क्रममा विद्यालयहरू बन्द हुँदा पठनपाठनमा क्षति पुगेको थियो। सोही क्षतिको पूर्ति गर्नका लागि शिक्षक महासङ्घ सत्यवती गाउँपालिकाले वैशाख २८ गते बैठक गरी सार्वजनिक बिदाका दिन समेत कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
सार्वजनिक बिदामा पनि कक्षा सञ्चालन
शिक्षक महासङ्घको निर्णयअनुसार वर्षे बिदाबाट तीन दिन र सार्वजनिक बिदाबाट तीन दिन मिलाएर छ दिन विद्यालय सञ्चालन गरिने छ। यसले शैक्षिक क्षतिलाई केही हदसम्म पूर्ति गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख लोगराज गिरीका अनुसार, पालिका भित्र ३२ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय गरी कुल ३५ विद्यालय छन्, जहाँ करिब चार हजार विद्यार्थी अध्ययनरत छन्।
स्थानीय तहको यो निर्णयले पठनपाठनलाई निरन्तरता दिई गुणस्तरीय शिक्षा प्रवाहमा टेवा पुग्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०८२ आश्विन ४ गते


