काठमाडौं, २८ भदौ —
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा जारी कर्फ्यू र निषेधाज्ञा हटाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले सुरक्षाको अवस्थाको मूल्यांकनपछि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालका अनुसार मिति २०८२ भदौ २८ गतेदेखि कर्फ्यू तथा निषेधाज्ञा हटाइए पनि गत साउन २६ गते प्रमुख जिल्ला अधिकारी छवि रिजालले जारी गरेको निषेधित क्षेत्रसम्बन्धी आदेश भने यथावत् रहनेछ।
प्रशासनले जारी सूचनामा भनिएको छ, “जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा कर्फ्यू र निषेधाज्ञा हटाइएको हो। तर, संवेदनशील क्षेत्रहरूमा तोकिएको निषेधित क्षेत्रको आदेश कायमै रहनेछ। त्यसैले सबैले सावधानीपूर्वक आदेशको पालना गर्नुहुन अनुरोध छ।”
यसअघि काठमाडौं उपत्यकामा जारी आन्दोलन, तोडफोड र झडपका कारण प्रशासनले कर्फ्यूसहित निषेधाज्ञा लागू गरेको थियो। अहिले अवस्था सामान्य हुँदै गएपछि प्रशासनले क्रमशः प्रतिबन्धात्मक आदेशहरू फिर्ता लिने प्रक्रिया अघि बढाएको हो।
प्रकाशित मिति: २०८२ भाद्र २८ गते


