दलहरूमा नयाँ युगको सुरुवात, पहिलो पुस्ता बिदाइको तयारी

काठमाडौं, २८ भदौ – जेन–जी पुस्ताको आन्दोलनले उठाएको चुनौतीपछि परम्परागत संसदीय दलहरू गहिरो आत्मसमीक्षा र पुनर्गठनको प्रक्रियामा उत्रिएका छन्। पुराना पुस्ताले सत्ता र शक्तिमा देखाएको निरन्तरता, अहंकार र निष्क्रियताको प्रतिक्रियास्वरूप युवा पुस्तामा विस्फोट भएको स्वीकार गर्दै दोस्रो र तेस्रो तहका नेताहरू जनभावना सुन्न र समायोजन गर्न अग्रसर भएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खुलेर आत्मालोचना गर्दै विगतका कमजोरीका लागि माफी मागेका छन्। जेन–जी आन्दोलनमा कांग्रेसका सभापति शेरबहादुर देउवा ‘नेपो बेबी’ र ‘अकूत सम्पत्तिका धनी’ पात्रको रूपमा तीव्र आलोचनामा परेपछि गगनको यस्तो अभिव्यक्ति आएको हो। थापाले भनेका छन्, “हामीले आउँदो पुस्ताका लागि राजनीति गर्ने हो भने जेनजी पुस्ताको भावनालाई सुन्नैपर्छ। त्यसका लागि विगतमा भएका कमजोरीमा माफी मागौं।”

शुक्रबार विभिन्न १६ जना दोस्रो तहका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जनमत बुझ्न नसकेकोमा आत्मालोचना गरेका छन्। उनीहरूले संविधान र संसद्को रक्षा गर्दै पार्टीलाई लोकतान्त्रीकरण गर्न प्रतिबद्धता जनाएका छन्। नेताहरूको भनाइमा, वर्तमान राजनीतिक संकटको समाधान संविधानसम्मत बाटोबाट खोजिनुपर्छ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बुधबारदेखि भएको छलफल र बिहीबार रातिको संयुक्त बैठकपछि यस्तो निष्कर्ष निकालिएको जानकारी दिइन्। उनले भनिन्, “आन्दोलनको शैलीमा आलोचना गर्नुपर्ने थुप्रै विषय भए पनि उठाइएका मागप्रति हाम्रो भावनात्मक समर्थन छ। आत्मालोचना गर्दै भ्रष्टाचार, परिवारवाद अन्त्य गर्नुपर्नेमा हामी एकमतमा छौं।”

झाँक्रीले भनिन्, “आजको संकट सत्तामा केही निश्चित व्यक्तिको लामो समयसम्मको हालीमुहालीका कारण सिर्जना भएको हो। त्यसैले अब सत्ताको दुरुपयोग अन्त्य गर्न दलसम्बन्धी कानुन परिमार्जन अपरिहार्य छ।”

नेताहरूले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा केही अवाञ्छित गतिविधिका कारण सार्वजनिक र निजी संरचनामा भएको क्षति प्रति दुःख व्यक्त गरेका छन्। साथै, उनीहरूले छानबिनको माग गरेका छन्। संकट समाधान तथा आगामी राजनीतिक मार्गचित्रका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव समेत दिइएको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा एमालेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, माओवादी केन्द्रका जनार्दन शर्मा, देवेन्द्र पौडेल, सुदन किराती, अमनलाल मोदी, एकीकृत समाजवादीका रामकुमारी झाँक्री, घनश्याम भुसाल, प्रकाश ज्वाला, कांग्रेसका एनपी साउद, मीनेन्द्र रिजाल र चन्द्र भण्डारी लगायतका नेताहरू रहेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी