काठमाडौं, भदौ २६ – नख्खु कारागारबाट अस्ति मंगलबार भागेका कैदीहरूलाई कारागार प्रशासनले यथाशीघ्र फर्कन अपिल गरेको छ।
कारागार प्रशासनद्वारा आज जारी गरिएको औपचारिक सूचनामा, सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई पनि बाँकी कैद अवधि भुक्तानका लागि तुरुन्त फिर्ता हुन आग्रह गरिएको छ।
नख्खु कारागारका सूचना अधिकारीका अनुसार, सबै फरार कैदीबन्दी र थुनुवाहरूले अविलम्ब आत्मसमर्पण गर्नुपर्ने व्यवस्था कानुनले गरेको छ, र त्यसअनुसार कारागार प्रशासनले सार्वजनिक रूपमा औपचारिक अपिल गरेको हो।
सूचनामा भनिएको छ:
“फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन मात्र होइन, भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधाहरू र सामाजिक पुनःस्थापनामा समेत प्रतिकूल असर पार्न सक्छ।”
प्रशासनले फरारहरूलाई विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न, साथै सार्वजनिक शान्ति र सुव्यवस्था कायम गर्नमा सहयोग गर्न अपिल गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २७ गते


