रामेछाप, भदौ २५ – रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीस्थित छतिउने खोलामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन्।
गोकुलगंगा गाउँपालिका–६ फर्पुबाट मन्थलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च ६३६० नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी सहायक निरीक्षक सुवास चन्द्र मण्डलका अनुसार दुर्घटनामा गोकुलगंगा–५ नामाडीका २२ वर्षीय चालक नोर्वु तामाङ, सोही वडाका ३७ वर्षीय साङ्गे तामाङ, फर्पु–६ का ४० वर्षीय सिंहबहादुर तामाङ, मन्थली नगरपालिका–१२ गेलुका ३५ वर्षीय रवि बुढाथोकी र दोलखाको तामाकोशी गाउँपालिका–३ छौडेकी ४६ वर्षीया मधु विश्वकर्मा घाइते भएका हुन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी मन्थलीस्थित तामाकोशी अस्पतालमा भर्ना गरिएको छ। हाल सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०८२ भाद्र २६ गते


