वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदाबाट सुरु हुने सोह्रश्राद्ध (पितृ पक्ष) आजदेखि विधिपूर्वक आरम्भ भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको प्रतिपदा तिथिमा अपराह्नकालसम्म पिण्डदान गरी श्राद्ध सम्पन्न गर्नुपर्ने शास्त्रीय मान्यता छ। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पात्रोमा स्वीकृत तिथिअनुसार नै कर्म गर्नुपर्ने हुन्छ।
सोह्र दिनसम्म चल्ने यस पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान, पिण्डदान जस्ता धार्मिक कर्म गरिन्छ। यसै कारण यो समयलाई सोह्रश्राद्ध, अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार सोह्रश्राद्ध गर्दा पितृ ऋणबाट मुक्ति मिल्छ र कर्तव्य पूरा भएको मानिन्छ। उनले जातशौच, मृतशौच वा पत्नी रजस्वलाको अवस्थामा बाहेक श्राद्ध नगर्न शास्त्रीय निषेध रहेको बताए।
कुन दिन श्राद्ध गर्ने?
कर्ताले आफ्ना पिताको निधन भएको तिथिमा श्राद्ध गर्नु पर्ने विधान छ। तर, आपत्कालमा असम्भव भएमा आश्विन शुक्ल पञ्चमीसम्म, त्यसपछि पनि नपुगेमा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा), वा वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने विकल्प शास्त्रमा दिइएको छ।
त्यसपछिका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतिपात योग जस्ता विशेष दिनमा पनि रोकिएको श्राद्ध गर्न सकिने उल्लेख छ।
शास्त्रीय विकल्प अनुसार, समयमै श्राद्ध गर्न नसक्नेले ब्राह्मणमार्फत १०८ मन्त्रको जप १० महिनासम्म गराउन सकिने व्यवस्था पनि छ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कतिपय पुरोहितले बिहानै श्राद्ध गर्न सुझाउने गरे पनि, शास्त्रअनुसार अपराह्न कालमै श्राद्ध गर्नु उचित मानिन्छ।
पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैं सुरु हुन्छ, त्यसअघि पितृको तृप्तिका लागि श्रद्धापूर्वक सोह्रश्राद्ध गर्नु सनातन परम्पराको अभिन्न अंग हो।
प्रकाशित मिति: २०८२ भाद्र २३ गते


