“विकास र परिवर्तनका लागि युवा” भन्ने मूल नारासहित तेस्रो डाबरा कप फुटबल प्रतियोगिता आगामी भदौ २१ गतेदेखि ३१ गतेसम्म बुद्धभूमि नगरपालिका–४ स्थित डाबरा खेल मैदानमा सञ्चालन हुने भएको छ।
डाबरा युवा क्लबको आयोजनामा र ग्लोबल डेरी प्रा.लि.को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबले जनाएको छ। प्रतियोगिता प्रत्येक दिन दिउँसो १ बजेदेखि सुरु हुनेछ।
क्लबका अध्यक्ष कमल काफ्लेका अनुसार प्रतियोगिता बुद्धभूमि क्षेत्रमा हालसम्मकै उच्च पुरस्कार राशीसहित आयोजना गरिएको हो।
विजेता टिमलाई नगद ८१ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ।
खेललाई प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउन स्थानीय खेलप्रेमी व्यक्तित्वहरूको सहयोग समेत प्राप्त भएको क्लबले जनाएको छ। प्रतियोगिता बुद्धभूमि नगरपालिका वडा नं. ४ को कार्यालयको संरक्षण र सहयोगमा आयोजना हुँदैछ।
यस प्रतियोगितामार्फत युवा प्रतिभा पहिचान, सामाजिक एकता र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०८२ भाद्र २१ गते


