काठमाडौं, १९ भदौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल ‘फेसबुक’को मातृ संस्था मेटा हालसम्म नेपालमा दर्ताका लागि कुनै औपचारिक सम्पर्कमा नआएको स्पष्ट पारेको छ।
सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि मेटा कम्पनीले सम्पर्क गरेको भनी विभिन्न समाचारहरू सार्वजनिक भएका थिए। यस्ता दाबीहरूप्रति मन्त्रालयले खण्डन गर्दै मेटाबाट अहिलेसम्म कुनै औपचारिक पहल नभएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार, “सरकारको आधिकारिक इमेलमा अहिलेसम्म मेटाबाट कुनै औपचारिक पत्राचार आएको छैन। यदि उनीहरू सम्पर्कमा आएका भए, वा आवश्यक कागजातबारे जानकारी मागेका भए अर्कै कुरा हुन्थ्यो,” उनले भने।
उनले थपे, “कम्पनी दर्ताका लागि चाहिने सबै जानकारी र कागजातको विवरण मन्त्रालयको वेबसाइटमा पहिल्यै उपलब्ध छ।”
प्रकाशित मिति: २०८२ भाद्र १९ गते


