कपिलवस्तु, – तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न गएकी तीन महिलाको सुनका गरगहना चोरी भएको छ। घटना मंगलबार दिउँसो कपिलवस्तु नगरपालिका अन्तर्गत रहेको तौलेश्वरनाथ मन्दिर परिसरमा पूजा गरिरहँदा भएको हो।
चोरीमा परेका महिलाहरू:
प्रिया जयसवाल, यशोधरा गाउँपालिका–६, रङ्गपुर – दुई तोलाको रानीहार
सुमन अग्रहरी, कपिलवस्तु नगरपालिका–२ – दुई तोलाको सुनको सिक्री
श्वेता ओझा, कपिलवस्तु नगरपालिका–१, गौडीचोक – दुई तोलाको मङ्गलसूत्र
मन्दिर व्यवस्थापन समितिका अनुसार, चोरीको दृश्य मन्दिरको सीसीटीभी फुटेजमा कैद भएको छ। उक्त फुटेजमा चार महिलाको समूह खुलेआम सुन चोर्दै गरेको देखिन्छ, जसमा एक जना महिलाले मुखले सिक्री टोकेर झिकिरहेको दृश्य पनि छ।
स्थानीयहरूका अनुसार, यी चोरहरू पहिले नै योजना बनाएर आएको हुनसक्ने अनुमान गरिएको छ। यस अघि पनि साउनको अन्तिम सोमबार मन्दिरमा पूजाका लागि गएका तीन जना भारतीय महिलाको सुन चोरी भएको घटना भएको थियो। दोहोरिएको चोरी घटनाले सुरक्षाको सवालमा प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाको पुष्टि गर्दै चोरहरूको खोजी भइरहेको जनाएको छ। प्रहरीका अनुसार, सीसीटीभी फुटेजको आधारमा शंकास्पद महिलाहरूको पहिचान र निगरानी कार्य अगाडि बढाइएको छ।
प्रकाशित मिति: २०८२ भाद्र ११ गते


