रौतहट —
रौतहटकी २६ वर्षीया रुवी साहको हत्या अभियुक्त लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या प्रयास गर्नु अघि एक भिडियो बनाएर फेसबुकमा पोष्ट गरेका छन्, जसमा उनले हत्या आफूले नै गरेको स्वीकार गरेका छन्।
फेसबुकमा पोस्ट गरिएको भिडियोमा पासवानले भनेका छन्:
“रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। ऊ मरीसकेकी छ। म बाँचेर के गर्नु? पक्राउ परे १०/१५ वर्ष जेल जानुपर्छ।”
उक्त भिडियोमा उनले रुवीसँगको प्रेमसम्बन्ध स्कुल जीवनदेखि रहेको बताउँदै अदालतमा गएर विवाह गरेको पनि खुलाएका छन्।
हत्या गर्नु अघि रुवी व्युटी पार्लरबाट पासवानको कोठामा आएकी थिइन् र “एकअर्का बिना बाँच्न सक्दैनौं” भन्ने भावनात्मक कुराकानी भएको उनले बताए।
“मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,” उनले भिडियोमा भनेका छन्।
पासवानले आफ्नो गरिबी र पारिवारिक दबाबका कारण रुवीको हत्या गरेको बताएका छन्।
शनिबार राति १० बजेतिर, गौर नगरपालिका–९ स्थित मुडवालगेट नजिकको सडक छेउमा फेला परेको सुटकेसभित्र रुवीको शव भेटिएको थियो।
प्रहरी अनुसन्धान अनुसार, रुवीको हत्या गौरकै एक घरमा गरी, रिक्सामार्फत शव सुटकेसमा राखेर फालिएको देखिएको छ।
रुवी भारतको मुजफ्फरपुर घर भएकी हुन् भने माधवनारायण नगरपालिका–२, माधवपुर माइती हुन्। उनी गौरमा डेरा लिएर ४ वर्षीया छोरीलाई पढाउँदै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीका अनुसार अभियुक्त लक्ष्मण पासवान आइतबार बिहान माधव नारायण नगरपालिका–६ स्थित नहर छेउमा जलेको अवस्थामा भेटिए। उनलाई तत्काल उद्धार गरेर अस्पताल पठाइएको छ।
प्रकाशित मिति: २०८२ भाद्र ११ गते


