तेस्रो महिनासम्म आइपुग्दा गर्भावस्थाको पहिलो त्रैमासिकको लगभग अन्त्यतिर पुगिसकेको हुन्छ । यो महिनामा प्रवेश गर्दा महिलाले अनुभव गर्ने लक्षणहरूमा केही पहिलेका निरन्तर देखिन्छन् भने केही नयाँ लक्षणहरू थपिन पनि सक्छन् ।
वाकवाकी र रिंगटा लाग्ने जस्ता समस्या यस चरणमा पुगेपछि क्रमशः कम हुन थालेको महसुस हुनसक्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने हरेक गर्भवती महिलाको अनुभव भिन्न हुन्छ ।
कसैलाई कुनै लक्षण एकदम तीव्र रूपमा देखिन सक्छ भने कसैलाई अत्यन्त हल्का ।
यस अवधिमा भ्रूण पनि निकै महत्वपूर्ण विकास प्रक्रियाबाट गुज्रिरहेको हुन्छ । अघिल्ला हप्ताको तुलनामा भ्रूण बढी परिपक्व हुँदै जान्छ, जसले आगामी महिनाहरूका लागि शारीरिक तथा मानसिक तयारी आवश्यक बनाउँछ ।
आमामा देखिने परिवर्तन
तेस्रो महिनामा केही लक्षणहरू पहिलो दुई महिनाकै निरन्तरता हुन सक्छन्, भने केही नयाँ लक्षणहरू पनि थपिन्छन् । हर्मोनल परिवर्तन र शरीरमा रगतको प्रवाह बढ्दा सेतो र गन्धरहित योनीस्राव हुन सक्छ । यस्तो अवस्थामा सुतीको कपडा वा पेन्टी प्रयोग गर्नु राम्रो हुन्छ ।
केही महिलालाई यो समयमा पनि बिहान वाकवाकी लाग्न सक्छ, तर यो क्रमशः कम हुँदै जान सक्छ । हर्मोनल परिवर्तनका कारण शरीरमा थकान महसुस हुनसक्छ । यो समयमा सामान्यभन्दा बढी आराम आवश्यक हुन्छ ।
पाठेघरको आकार बढ्दा पिसाबथैलीमा दबाब पर्छ, जसले बारम्बार पिसाब लाग्ने अनुभव हुन्छ । हर्मोनको उतारचढावले चिडचिडापन, रिस वा भावनात्मक परिवर्तन हुनसक्छ । केही खानेकुराप्रति तीव्र इच्छा वा पहिले मनपर्ने खानाप्रति अरुचि हुन सक्छ ।
प्रकाशित मिति: २०८२ असार १२ गते


